Open top menu
Saturday, February 20, 2016

 फाल्गुन  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेत दिएको छ । विश्व क्रिकेटको सर्वोच्च निकायले बिहीबार नेपाली क्रिकेटसँग संलग्नहरूलाई पत्र पठाई बाध्यकारी कदम चाल्न आईसीसी अगाडि बढ्नुपर्ने स्थिति आएको जनाएको छ । 

आईसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, सरकारद्वारा गठित नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष रमेश सिलवाल र सरकारको निर्वाचनलाई बेवास्ता गर्दै निर्वाचनबाट चुनिएका क्यानका महासचिव अशोकनाथ प्याकुर्‍यालको नाममा पत्राचार गरी यस्तो चेतावनी दिएको हो । 

मंसिरको अन्तिममा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको निर्वाचन भएको थियो । आफ्नो स्वीकृतिबिना भएको चुनावलाई नमानेका कारण त्यसलाई सरकारले मान्यता दिएको छैन । प्याकुर्‍याल त्यही क्यानका महासचिव हुन् । पुस १८ गते राखेपले सिलवालको अध्यक्षतामा अर्को क्यान गठन गरेको थियो । त्यसविरुद्ध प्याकुर्‍याल सम्मिलित क्यानले सर्वोच्च अदालतमा मुद्दा हालेको थियो, जसको अझै निर्णय भएको छैन । 

२०१५ को नोभेम्बर ८ मा गरेको पछिल्लो पत्राचारपछि क्यानको स्थिति अझ दयनीय भएको जनाउँदै एन्डरसनले नेपाल पठाएको पत्रमा भनेका छन्, ‘नेपालको सर्वोच्च अदालतको निर्णयबारे हामी अझै स्पष्ट हुन सकेका छैनौं । यो स्थिति समाधान नभएपछि नेपाली क्यानले क्रिकेटको सर्वोच्च निकायको हिसाबमा कार्य गर्न पाउने छैन । यो एउटा दुर्भाग्यपूर्ण अवस्था हो । यो रहेसम्म नेपाली क्रिकेटले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

एन्डरसनले अगाडि भनेका छन्, ‘आईसीसी बोर्डलाई यो विषयमा अप्रिलमा हुने बैठकमा जानकारी गराइनेछ र स्थिति यही रहिरहेमा आईसीसी बोर्डले क्यानको निलम्बनसम्मको कारबाही गर्न सक्नेछ ।’ दुई फरक क्रिकेट बोर्ड अस्तित्वमा देखिएपछि आईसीसीले गत वर्ष नै अमेरिकालाई निलम्बन गरेको थियो । अहिले नेपाली क्रिकेट त्यही स्थितिमा आइपुगेको हो । 

एन्डरसनको पत्रले नेपालले वैशाख २ र ४ गते नामिबियासँग कीर्तिपुरमा खेल्ने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल पनि शंकाको घेरामा छ । ‘क्यान चलायमन नहुने हो भने नेपालको विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियासँगको खेल कसरी हुन्छ यो भन्न गाह्रो छ । यस विषयमा आईसीसीले मार्चमा आफ्नो स्पष्ट धारणा बनाउनेछ,’ एन्डरसनको पत्रमा उल्लेख छ ।

आईसीसीले नेपाललाई सर्तसहित यो खेल आयोजना गर्न दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरको पूर्वाधार निर्माण सम्पन्नको प्रक्रिया र सुरक्षा प्रत्याभूति आईसीसीका सर्त हुन् । तर आईसीसीले पछिल्लो स्थितिमा क्यानको आधिकारिकतामा प्रश्नै उठाएपछि नेपालले घरेलु मैदानमा च्याम्पियनसिपका खेल खेल्न पाउन थप समय कुर्नुपर्ने देखिन्छ । 

कीर्तिपुर मैदानको पूर्वाधार स्तरोन्नति गर्न नसकेको र सुरक्षा प्रत्याभूति दिन नसकेपछि पपुवा न्युगिनीसँगको खेल नेपालले नोभेम्बरमा यूएईमा गएर खेलेको थियो । २०१५ देखि १७ सम्मको च्याम्पियनसिपका ७ खेलमा नेपालले तीन देशविरुद्धका ६ खेल घरेलु मैदानमा खेल्न पाउने आईसीसीको तालिका छ । 

एन्डरसनले पत्रमा नेपालले आईसीसीले दिने २०१४ देखिको ९ लाख डलर सहयोग रकम रोकिएको पनि जानकारी गराएका छन् । ‘राम्रो सर्वोच्च निकाय, उचित प्रशासन र आर्थिक व्यवस्थापन प्रणाली कार्यान्वयन नभएसम्म आईसीसीले दिने सहयोग रकम रोक्का भइरहने छ,’ एन्डरसनले पत्रमा भनेका छन् ।





Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments