Open top menu
Thursday, December 15, 2016
एक्सपो चेसमा नेपाल तेश्रो


२९ मंसिर,२०७३, काठमाडौं    सोमबार सम्पन्न संसारका बालबालिकाको लागि एक्सपो चेसमा नेपाललाई तेश्रो स्थान प्राप्त भएको छ । विश्वका पाँच महादेशका आठ राष्ट्र सहभागी प्रतियोगितामा एशियाबाट नेपालको सहभागीता रहेको एक्सपोचेसका नेपाल संयोजक उमेश केसीले बताए ।
संसारका बालबालिकाहरुलाई चेस खेलको माध्यमबाट अन्य देशको भाषा तथा संस्कृतिका विषयमा समेत ज्ञान आर्जन गर्न सहयोग पर्याउने उद्देश्यले आयोजित प्रतियोगितामा नेपालबाट ११ जना बालबालिकाको सहभागीता रहेको थियो । अनलाईन प्रविधिबाट सञ्चालन भएको प्रतियोगिताको प्रत्येक चरणमा ४ जना खेल्ने, ४ जनाले विद्दुतीय उपकरणमा सहयोग पुर्याउने तथा ३ जना प्रत्यक्ष कुराकानीमा सहभागी भएका थिए । संसारभर एउटै समयमा प्रतियोगिता सञ्चालन भएको थियो ।
सात चरणमा सम्पन्न प्रतियोगितामा स्पेन १० म्याच प्वाईन्टका साथ पहिलो स्थानमा रह्यो भने पेरु ९ म्याच प्वाईन्टका साथ दोश्रो स्थानमा रह्यो । ८ म्याच प्वाईन्ट बटुल्दै तेश्रो भएको नेपालले २ मा जित, ४ मा बराबरी तथा १ खेलमा हार बेहोरेको थियो । नेपालले चिलिलाई ०.५ अंकका विरुद्ध ३.५ अंकले पराजित गर्यो भने हंगेरीलाई ३–१ ले हरायो । त्यसैगरी पेरु, युगाण्डा, मेक्सिको तथा अमेरिकासँग २–२ अंकका साथ बराबरीको नतिजा आत्मसात गर्यो । उता विजेता टोलि स्पेनसँग ०.५ का विरुद्ध ३.५ अंकको हार व्यहोर्न पुग्यो । स्पेनी स्वयंसेवी संस्था एक्सपोचेसको आयोजनामा भएको कार्यक्रममा चित्रकला तर्फ समेत नेपालका बालबालिका सहभागी भएका थिए । चित्रकलामा हंगेरीकी बालिका प्याट्रिसिया नेजी उत्कृष्ठ भईन ।



Read more
पुर्वाञ्चलबाट बुद्धिचालका खेलाडी छनौट,झापा टिम च्याम्पियन



    
उत्तम रिजाल, 
२९ मंसिर, फिदिम    सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुर्वाञ्चलबाट बुद्धिचालका खेलाडी छनोट भएका छन् ।
पाँचथरको फिदिममा सम्पन्न छनोट प्रतियोगिताबाट पुरुषतर्फ सात र महिलातर्फ पाँच गरी बाह्र खेलाडी छनोट भएका छन् । छनोट प्रतियोगितामा झापाले दब्दबा कायम गरेको छ । झापाका सहभागी पाँचै खेलाडी छनोट भएका छन् । झापाले सबै खेलाडी छनोट भएसँगै टिम च्पयाम्पियनको पनि उपाधी जितेको छ ।  प्रतियोगितामा पुरुष र महिला दुबै इभेन्टमा झापाका खेलाडी प्रथम भए । 
पुरुषतर्फ झापाका प्रकाश नेपाल अपराजित रहदै सात राउण्डको खेलमा ६ अंकका साथ प्रथम भए । उनले सातौ तथा अन्तिम राउण्डमा पाँचथरका हेम बहादुर जबेगुलाई चित ख्वाएका थिए । उनीसँगै सुनसरीका प्रज्वल घिमिरे, धनकुटाका सुमन श्रेष्ठ, भोजपुरका सुमन राई, सप्तरीका सिंहेश्वर दास,झापाका राजन सुबेदी र उदयपुरका पर्शुराम राई क्रमश दोस्रो देखी सातौ हुदै धनकुटामा हुने राष्ट्रिय प्रतियोगिताको लागी छनोट भएका छन् ।  

उता महिलातर्फ झापाकी कृपा अधिकारीले प्रथम स्थान हासिल गर्दा झापाकै पुनम प्रसाई दोस्रो भइन् । त्यस्तै ताप्लेजुङ्गकी शुशिला गुरुङ्ग तेस्रो हुदा झापाकै खुस्बु थापा चौथो र मोरङ्गकी आस्मा थापा पाँचौ हुदै राष्ट्रिय प्रतियोगिताका लागी छनोट भएका छन् । प्रतियोगिता आगामी पुस आठ गतेबाट शुरुहुदैछ ।  












Read more
दोश्रो दिन सम्म चार खेलाडीको अग्रता


उत्तम रिजाल
२६ मंसिर,फिदिम / सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बुद्धिचालतर्फको पुर्वाञ्चल स्तरीय छनोट खेलमा चार खेलाडीले अग्रता लिएका छन् । पाँचथरको फिदिममा जारी खेलमा दोश्रो दिन तेश्रो राउण्ड सम्मको खेल सकिदा महिला तर्फ झापाकी पुनम प्रसाईले एकल अग्रता लिएकी छन् ।
उनले तेश्रो राउण्डमा झापाकै खुस्बु थापालाई पराजित गरेसँगै अग्रता लिएकी हुन् । पहिलो बोडमा ब्लाकबाट खेलेकी उनले खुस्बुलाई रिजाइन दिन बाध्य बनाएकी थिइन् । झापाकै कृपा अधिकारी र मोरङ्गकी आष्मा थापा समान २.५ अंकका साथ दोस्रो स्थानमा छन् । मोरङ्गकी खुसी मुखिया र ममता सहनी, ताप्लेजुङ्गकी शुशिला गुरुङ्ग र झापाकी खुस्बु थापा २ अंकका साथ अन्तिम पाँचमा पर्न संघर्षरत छन् ।
उता पुरुषतर्फ झापाका प्रकाश नेपाल, शुनसरीका प्रज्वल घिमिरे र  धनकुटाका सुमन श्रेष्ठ समान तीन अंकका साथ अग्र स्थानमा रहेका छन् । तेस्रो राउण्डमा पहिलो बोर्डमा खेलेका प्रकाशले शुनसरीका राजन कुमार पोख्रेललाई पराजित गरेका थिए । त्यस्तै शुनसरीका प्रज्वलले उदयपुरका पर्शुराम राईलाई तथा धनकुटाका सुमन श्रेष्ठले झापाका राजन सुवेदीलाई पराजित गरेका छन् । अन्य खेलमा सप्तरीका मनोज विक र सिंहेश्वर दास,उदयपुरका महेश कुमार बस्नेत,भोजपुरका सुमन राई,मोरङ्गका राजकुमार वान्तवा,पाँचथरका हेम बहादुर जबेगु र एलिन आङ्गदेम्बेले जित निकालेका छन् । उनीहरु समान २ अंकका साथ अन्तिम सात प्रबेशका लागी संघर्ष गरिरहेका छन् । प्रतियोगितामा आज चौथो र पाँचौ राउण्डका खेल हुनेछन् । 
Read more