Open top menu
Saturday, June 11, 2016
आदेश र सक्षमको अग्रता





२८ जेठ,दमक/  मोरङ्गको उर्लाबारी –६ स्थित मंगलबारेमा जारी दोस्रो सनसाइन कप विद्यालय स्तरीय खुला बुद्धिचाल प्रतियोगितामा आदेश दाहाल र सक्षम भण्डारीले संयुक्त अग्रता कायम गरेका छन् । उनीहरुको ६ राउण्डको खेल सकिदा सम्म समान ५.५ अंक रहेको छ । दुबै आयोजक सनसाइन बोर्डिङ्ग स्कुलका खेलाडी हुन् ।

शुक्रबार सम्पन्न छैटौ राउण्डमा पहिलो बोर्डमा आमने सामने भएका उनीहरुले बराबरी खेलेसँगै संयुक्त अग्रता कायम गर्न सफल भएका हुन् ।

यसअघि चौथो राउण्डमा झापा दमकको एभरेष्ट बोर्डिङ्गका एन्जल शिवालाई पराजित गरेका आदेशले पाँचौ राउण्डमा आफ्नै स्कुलकी आष्मा थापालाई चित ख्वाएका थिए । भण्डारीले भने चौथो राउण्डमा सुनगाभाका दिपेन्द्र खनाल तथा पाँचौ राउण्डमा आफ्नै स्कुलकी खुसी मुखियालाई माथ दिए ।

प्रतियोगिताका एक मात्र रेटेड खेलाडी मुखिया माथिको जितले भण्डारीको उपाधि जित्ने सम्भावना पनि बढेको छ । यद्यपी निर्णय भने अन्तिम राउण्डको खेलले मात्र तय गर्ने भएको छ । शनिबार अन्तिम राउण्डमा भण्डारीले भापा दमकको एभरेष्टकी कृपा अधिकारीसँग पहिलोे बोर्डमा खेल्ने छन् । कृपाको ५ अंक रहेको छ । सो खेलमा भण्डारीले पराजय भोगे दोस्रो बोर्डमा ब्लाकबाट खेल्ने आदेशले खुसीमाथि जित निकाले दाहालले बाजी मार्ने छन् । मुखियाको ५ अंक रहेको छ । उनले छैटौ राउण्डमा दिपेन्द्र खनाललाई माथ दिएकि थिइन् । त्यस्तै छैटौ राउण्डमा जित हासिल गरेपछि झापा दमकको झापा मोडलका संदेश खड्काले पनि टप थ्रिको संभावना बढाएका छन् । उनले छैटौ राउण्डमा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका आयोजकका समिर खड्कालाई पाखा लगाएका थिए ।

त्यस्तै आयोजकका सैलेश दुलालले दमककै एभरेष्टका प्रशान्त शाहालाई पराजित गर्दै ५ अंक बनाएका छन् । उनले अन्तिम राउण्डमा जित निकाले टप थ्रीको यात्रा तय गर्ने छन् । पछिल्लो क्रममा उत्कृष्ट पुनरागमन गरेकी आयोजककै आष्मा थापाले पनि छैटौ जितसँगै छात्रा तर्फको उपाधी सम्भावना बलियो बनाएकी छन् । त्यस्तै दमककै एभरेष्टकी खुस्बु थापाले पनि छात्रा तर्फको टाइटलमा पर्ने सम्भावना बढाएकी छिन् । उनले छैटौ राउण्डमा आफ्नै स्कुलका मिसन दाहाललाई पाखा लगाएकी थिइन् ।

अन्य खेलमा प्रज्वल खतिवडाले ओत्सव अधिकारीलाई,डिचेन लिम्बुले प्रेम बराललाई,बिशाल भण्डारीले सुरेन सुब्बालाई,सिद्धार्थ राईले सुशान्त भण्डारीलाई, कबी ग्याबाले मौसम धिमाललाई,सौरभ दुलालले एन्जल शिवालाई र रोजन ढुङ्गानाले संदिप राईलराई पराजित गर्दै थप एक अंक जोडेका छन् । यिनीहरु सबैको समान ४ अंक रहेको छ । आयोजकका श्रृजन खड्का र आष्मा थापाको समान ४.५ अंक रहेको छ ।

सातौ तथा अन्तिम राउण्डमा यि दुई खेलाडी चौथो बोर्डमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा झापा र मोरङ्गका गरि ८ विद्यालयका ६२ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । अन्तिम राउण्ड विहान दश बजेबाट शुरुहुने चिफ आरविटर तथा नेपाल च्याम्पियन भुपेन्द्र निरौला (निरज) ले जानकारी दिए । सनसाइनले अघिल्लो बर्ष देखी प्रत्येक बर्ष विद्यालय स्तरीय खुला बुद्धिचाल प्रतियोगिता गर्ने जनाएको थियो ।

Read more