Open top menu
Friday, July 15, 2016
प्रिमियर लिगको दबाबमूलक कामका लागि तयार रहेको कोन्टेको भनाई

१ श्रावण , २०७३ /  चेल्सीका नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेले आफू इङ्लिस प्रिमियर लिगको दबाबमूलक कामका लागि तयार रहेको बताएका छन्। चेल्सी प्रशिक्षकमा पहिलोपटक पत्रकार सम्मेलन गर्दा उनले टोलीलाई सही बाटोमा फर्काउन प्रयास गर्ने बताए। अरुभन्दा बढी दौडिनेसँग जित्ने सम्भावना बढी हुन्छ, कोन्टेले पत्रकार सम्मेलनमा भने, हामीले पनि जित्नका लागि राम्रो र आकर्षक फुटबल खेल्नुपर्छ। त्यसका लागि फिटनेसमा अत्यन्तै ध्यान दिनुपर्छ। फिटनेस कमजोर भयो भने राम्रो फुटबल सम्भव हुँदैन।


जोजे माउरिन्हो र गुस हिडिंकको नेतृत्वमा अघिल्लो सिजन निराशाजनक रूपमा बिताउँदा चेल्सीका थुप्रै स्टार खेलाडी आफ्नै क्षमताअनुसारको प्रदर्शनबाट पनि चुकेका थिए। इडेन हाजार्ड र सेस फाब्रिगास जस्ता खेलाडीले पनि आफ्नै विगतको प्रदर्शन निरन्तरता नदिएर प्रशिक्षकलाई निराश पारेका थिए। माउरिन्होको कालमा नचलेका स्टारहरू कोन्टेको नेतृत्वमा पनि रातारात नदौड्ने उनले राम्ररी बुझेका छन्। त्यसैले कोन्टेले पहिलो सार्वजनिक समारोहमा खेलाडी, क्लब पदाधिकारी र समर्थक सबैलाई प्रभावित पार्ने प्रयास गरे।

म एउटा कामदार हुँ। काम गरिरहन्छु। मेरो काम फुटबल खेलाउने हो। आफ्नो क्षमताले भ्याएसम्म टोली र खेलाडीलाई हकलाग्दो नतिजा दिलाउने गरी खेलाउनु मेरो जिम्मेवारी हो, हाल म्यानचेस्टर युनाइटेडको जिम्मेवारी सम्हालेका चेल्सीका पूर्व प्रशिक्षक जोजे माउरिन्होसँग दाँज्दै गरिएको प्रश्नमा कोन्टेले कसैको नाम नलिइकन भने, कोही प्रशिक्षक जित्ने मानसिकताका हुन्छन्। उनीहरू जित निकाल्न माहिर हुन्छन्, त्यसका लागि हरेक हतकन्डा अपनाउँछन्। त्यो विशेष गुण हो।

इङ्लिस प्रिमियर लिगलाई विश्वकै सबैभन्दा कठिन लिग मानिन्छ। तर, कोन्टेले आफू प्रिमियर लिगको चुनौतीबाट नडराएको बताए। म दबाबसाथ जन्मिएको मानिस हुँ। त्यसैले दबाब मेरा लागि महत्वपूर्ण कुरा होइन। चेल्सी जस्तो एउटा महान फुटबल क्लबको खेलाडी वा प्रशिक्षक भएपछि दबाब हुनु स्वाभाविक कुरा हो। यसका बीचमा जितका लागि खेल्नु महत्वपूर्ण कुरा हो, कोन्टेले भने, यहाँ ६/७ वटा टिम उपाधि जित्न सक्षम छन्। त्यसैले प्रिमियर लिग कठिन लिग हो भन्ने मलाई थाहा छ। यसकै कारण म अहिले चेल्सीको नेतृत्व गर्न पाएकोमा उत्साही छु।

कोन्टेले क्लबलाई जितको बाटोमा फर्काउँदै च्याम्पियन्स लिगमा पुनरागमन जनाउनु आफ्नो पहिलो लक्ष्य भएको बताए। रुसी अर्बपति तेल व्यापारी रोमन एब्रामोभिचले स्वामित्व ग्रहण गरेपछिका आठौं मुख्य प्रशिक्षक कोन्टेले टिमको संरचनामा धेरै परिवर्तन नगर्ने संकेत गरे। कप्तानमा जोन टेरीलाई निरन्तरता दिने योजना उनले सुनाए। मैदानमा रहँदा टेरीले नै टिमको नेतृत्व गर्ने कोन्टेले प्रस्ट पारे। उनी जब मैदानमा हुन्छन्, उनी एउटा खेलाडीको भूमिकामा मात्र सीमित हुँदैनन्। उनमा नेतृत्वको गुण छ। उनी जहिले पनि कप्तान जसरी प्रस्तुत हुन सक्छन्,एक वर्षका लागि नयाँ सम्झौता पाएका टेरीको प्रशंसामा ४६ वर्षे प्रशिक्षकले भने।

मिची बात्सुईको आगमनले टोली थप बलियो भएको उनको भनाइ थियो। चेल्सीको टोलीमा प्रतिभाको कुनै कमी नभएको विचार राख्ने कोन्टेले टोलीलाई पुनरागमनको एउटा अवसर चाहिएको बताए। आगामी सिजनको सुरुआतसँगै चेल्सीको पुनरागमन अभियान पनि सुरु हुने उनले बताए। पुनरागमनका लागि प्रतिभासँगै टिममा एकता, लक्ष्यप्राप्तिको भावना र प्रतिबद्धता आवश्यक भएको उनको भनाइ थियो।

लेस्टर सिटी एउटा राम्रो उदाहरण हुनसक्छ। उनीहरूले प्रतिबद्धता र जोसिलो भावनाका भरमा गत सिजनमा प्रिमियर लिग जितेका हुन्,कोन्टेले भने, पक्कै पनि आउँदो सिजन हाम्रा लागि सहज छैन। तर हामी सबैखाले चुनौती र दबाब झेल्न तयार हुनुपर्छ।

लेस्टरका एनुगोलो कान्टेका लागि २ करोड ७० लाख पाउन्डको प्रस्ताव गरेको चेल्सीले रियाल मड्रिडका अल्भारो मोराटा र एएस रोमाका राड्जा नाइनगोलानमाथि पनि आँखा गाढिरहेको छ। कोन्टेले इच्छा गरेका यी तीन खेलाडी पनि भित्याउन सके आगामी सिजन चेल्सी थप बलियो टोली बन्नेछ।

अघिल्लो सिजन साबिक विजेताका रूपमा चेल्सीले सिजन सुरु गरेको थियो भने क्लाउडियो रेनरीको लेस्टरलाई धेरैले मध्यपंक्तिका लागि पनि लायक मानेका थिएनन्। तर सिजन सकिँदा विश्व फुटबलकै जिज्ञासुहरू लेस्टर र रेनरीको चर्चामा रमाउन थाले। यसपालि चेल्सीका प्रशिक्षकलाई अघिल्लो सिजन रेनरीको जस्तो सुविधा छ। किनकि धेरैले चेल्सीलाई आगामी सिजनमा उपाधि दाबेदार मानेका छैनन्।

क्लबले मलाई बर्खास्त गर्ला भन्ने डर मसँग हुने छैन। मेरा लागि त्यो महत्वपूर्ण कुरा होइन। मेरा लागि महत्वपूर्ण कुरा भनेको काम गर्नु हो, टिमलाई पहिचान दिनु हो, मेरो फुटबल दर्शन लागू गर्नु हो। कामप्रतिको भावना प्रस्तुत गर्दै मेरो लगाव खेलाडी र समर्थकसम्म पुर्‍याउनु हो। अझ महत्वपूर्ण कुरा जित्नु हो, युभेन्ट्स तथा इटालीका पूर्व प्रशिक्षक कोन्टेले पत्रकार सम्मेलनमा भने, पूरा सिजनमा म आफ्ना फुटबल नीति मैदानमा उतार्ने छु। सिजन सकिँदा जित्न सकेको अवस्थामा म बस्नेछु। जित्न नसके म टिममा रहन्न। म युभेन्ट्स जाँदा उनीहरूले ९ वर्षदेखि उपाधि जित्न सकेका थिएनन्। तर चेल्सीले १२ महिनाअघि उपाधि जितेको थियो।
Read more
'मेसी अपराधी होइनन्'-टेबाज

१ श्रावण , २०७३ /  स्पेनिस लिगका अध्यक्ष जाभियर टेबाजले लियोनल मेसी अपराधी नभएको जनाउँदै बार्सिलोनाका स्टार ला लिगामै रहने खबरले आफू खुसी भएको बताएका छन्। मेरो विचारमा मेसी अपराधी होइनन्। उनी ला लिगामै रहने खबर हामी सबैका लागि सुखद हो। यो खबरले मलाई खुसी दिलाएको छ,टेबाजले भने।

कर छलेको आरोपमा बार्सिलोना अदालतले मेसीलाई २१ महिना जेल सजाय सुनाएको थियो। अदालतको त्यो निर्णयविरुद्ध मेसीले अपिल गर्ने पनि टेबाजले बताए। बार्सिलोनाले सामाजिक सञ्जालमार्फत मेसीको समर्थनमा अभियान चलाएको दुई दिनपछि टेबाजले यस्तो प्रतिक्रिया दिएका हुन्।

हामी अहिले एउटा यस्तो विवादमा अल्भ्किइरहेका छौं, जहाँ एफसी बार्सिलोना र मेसीले करसम्बन्धी अपराध गरेको अभियोग झेलिरहेका छन्। तर वास्तविकता त्यस्तो होइन, बार्सिलोनाका प्रवक्ता जोसेप भाइभ्सले सोमबार भनेका थिए, अन्यायपूर्ण व्यवहारको सिकार भइरहेका परिवारका एकजना सदस्यको पक्षमा बार्सिलोना क्लब उभिएको मात्र हो। मेसी र बार्सिलोनाले कुनै अपराध गरेको छैन। त्यसैले हामी उनको पक्षमा छौं।

बार्सिलोनाले दुवै हात उठाएको मेसीको फोटोसँगै हामी सबै लियोनल मेसीसँग छौं भन्दै ट्विट गरेपछि बार्सिलोनाका लाखौं समर्थकले विश्व फुटबलका सबैभन्दा प्रतिभावान फुटबलरको समर्थनमा सामाजिक सञ्जाल रंगाएका थिए। बार्सिलोनाले आफ्नो भावना थप प्रस्ट पार्ने क्रममा हामी सब मेसी हौं, हामी उनलाई कठिन अवस्थामा उनी एक्लो छैनन् भन्ने सन्देश दिन चाहन्छौं। सबै सदस्य, क्लबका समर्थक, खेलाडी, सञ्चारमाध्यम र खेलप्रेमीलाई यो अभियानमा साथ दिन हामी आह्वान गर्दछौं, भनेको थियो।


मेसी र उनका पितालाई कर छलेको आरोपमा अदालतले जेल सजाय सुनाए पनि स्पेनको नियमअनुसार उनीहरूले जेलमै बस्नुपर्दैन। हिंसात्मक बाहेकका अपराधमा पहिलोपटक दोषी ठहर भएर दुई वर्षभन्दा मुनिको जेल सजाय सुनाइँदा स्पेनमा जेल बस्नु नपर्ने व्यवस्था छ। चार दिनसम्म चलेको सुनुवाइपछि अदालतले पाँचपटकका फिफा विश्व वर्ष खेलाडी भइसकेका २९ वर्षे मेसीलाई २० लाख ९० हजार तथा उनका पितालाई १६ लाख युरो जरिवाना गर्ने निर्णय सुनाएको थियो।


Read more
लेग स्पिनर सन्दीपलाई इङ्ल्यान्डमा अवसर

१ श्रावण , २०७३ /  नेपाली युवा सनसनी खेलाडी सन्दीप लामिछानेले इङ्ल्यान्डमै खेल्ने अवसर पाएका छन् । इङ्ल्यान्ड भ्रमणमा रहेको नेपालबाट आफ्नो प्रभाव देखाएपछि लेग स्पिनर सन्दीपले आज स्थानीय टिमबाट खेल्न लागेका हुन् ।

नेपालले बिहीबार इन्डियन जिमखाना क्रिकेट क्बलविरुद्वको ट्वान्टी-२० खेलेको थियो । त्यही जिमखानाबाट आज ओल्ड एक्टनविरुद्व उनीहरुकै मैदानमा खेल्न लागेका हुन् । जिमखानाको तेस्रो टिमबाट सन्दीपले मिडलसेक्सको लिग म्याच खेल्न लागेका हुन् ।

नेपालले शुक्रबार इङ्ल्यान्ड भ्रमणमा तेस्रो खेल खेल्दै छ । आज नेपालको अभ्यास मात्र छ । लगातार तीन खेल खेलिसकेको अवस्थामा नेपालले अभ्यास खेल खेल्ने सम्भावना कम रहेको र सन्दीपलाई म्याच एक्सपोजरको आवश्यक्ता पनि भएकाले जिमखानाबाट खेल्न दिइएको नेपालका परामर्श प्रशिक्षक पुबुदु दासानायकेले बताए ।

सन्दीपले जिमखानासँगको खेलमा २ ओभर बलिङ गरे पनि कुनै विकेट लिएका थिएनन् । ‘हामीलाई उनी प्रतिभावन खेलाडी हुन भन्ने लाग्यो, त्यसैले हामीले उनलाई जिमखानाबाट खेल्न आमन्त्रण गरेका छौं,’ जिमखानाका प्रशिक्षक अनिल धान्डले बताए । हाल चलिरहेको लिगमा सन्दीपलाई जिमखानाको पहिलो २ टिमबाट खेलाउन नमिल्लने भएकाले तेस्रो टिमबाट अवसर दिइएको बताए ।

उनका अनुसार यहाँको लिगमा खेल्न खेलाडी दर्ता हुनुपर्छ र विदेशी खेलाडीका लागि छुट्टै प्रक्रियाबाट आउनु पर्छ । सन्दीपले आफुलाई प्रमाणित गरेमा अर्को वर्षलाई थप अवसर रहने धान्डले बताए । सन् १९१६ मा स्थापना भएको इन्डियन जिमखाना क्रिकेट क्लब अहिले शत वार्षीकी मनाइरहेको छ । सोही क्रममा नेपाली टिमसँग खेलेको पनि हो ।

जिमखाना मैदानमै फ्रि फोरेस्टर क्रिकेट क्लबसँग भएको पहिलो खेलमा सन्दीपले ५।१ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिएका थिए । एक वर्ष अघिमात्र राष्ट्रिय क्रिकेटमा आएका सन्दीपले नेपाली क्रिकेटमा ठुलो प्रभाव पारेका छन् । पहिलो अन्तराष्ट्रिय प्रतियोगिता खेल्नेक्रममा सन्दीपले जनवरी–फेब्रुअरीमा बंगलादेशमा भएको आईसीसी यू–१९ विश्वकपमा उनले १४ विकेट लिएका थिए र प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा थिए । उनले आयरल्यान्डसँगको खेलमा ह्याट्रिक गरेका थिए । वैशाखमा सन्दीपले राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गर्दै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्व कीर्तिपुरमा खेलेका थिए ।

अस्ट्रेलियाका विश्वकप विजेता कप्तान माइकल क्लार्कको निमन्त्रणामा सन्दीप सेप्टेम्बरमा अस्ट्रेलिया जाने कार्यक्रम छ । उनले त्यहाँ माइकल क्लार्क एकेडेमीबाट खेल्ने छन् । दुई महिना अघि हङकङमा क्लब क्रिकेट खेल्न जाँदा क्लार्क र सन्दीपले एकै टिमबाट खेलेका थिए । त्यसपछि क्लार्कले सन्दीपलाई अस्ट्रेलियामा बोलाएका हुन् ।


Read more
नेपाली टोली तेश्रो अभ्यास खेलमा पनि विजयी

 १ श्रावण, २०७३ /   ईङल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेश्रो अभ्यास खेलमा पनि  विजयी भएको छ । जितको श्रृखलालाई निरन्तरता दिने क्रममा नेपाली राष्ट्रिय टोलीले स्थानिय क्रिकेट कन्फ्रेन्स क्लबलाई ४ विकेटले हराउदै तेश्रो जित आत्मसाथ गरेको हो । 
जितका लागी पाएको २ सय २७ रनको चुनौती नेपाली टोलीले ४६ दशमलब १ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका लागी कप्तान पारस खड्काले सर्बाधिक ६७ रन बनाए । ओपनर अनिल मण्डलले ४३, ज्ञानेन्द्र मल्लले ३६, शरद भेशवाकरले १९ बनाए । राजु रिजाल १७ रनमा नटआउट रहे ।   

यसअघि आफ्नो घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कन्फ्रेन्स क्रिकेट क्लबले निर्धारित ओभर पुरै खेल्दै ७ विकेट गुमाएर २ सय २६ रनको मध्यम योगफल तयार पारेको थियो । उसका लागी स्टेल सेलउडले ६७ र सागर पटेलले ६५ रन बनाए । उसलाई मध्यम स्कोरमा रोक्ने क्रममा सोमपाल कामी र संदिप लामिछानेले समान २ तथा करण केसी र पारस खड्काले एक एक विकेट लिए ।   चौथो अभ्यास खेलमा नेपाली टोलीले भोली ईष्ट ब्रोन क्रिकेट क्लबसंग अभ्यास खेल खेल्नेछ । 
Read more