Open top menu
Wednesday, February 7, 2018
पथरीलाई पराजित गर्दै आयोजक फाइनलमा, उपाधिका लागि राष्ट्रिय जागृतिसँग भिड्ने

उत्तम रिजाल, झापा – पथरी फुटबल क्लब मोरङलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै आयोजक गुहेश्वरी युवा क्लब झापाको कमल गाउँपालिकामा जारी स्वर्गीय विशाल खड्का स्मृति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयसम्म २–२ को बराबरी भएपछि भएको टाइब्रेकरमा आयोजकका जर्सी नम्बर–१५ का निशान लिम्बु, जर्सी नम्बर–२३ का अशोक खबास, जर्सी नम्बर–१० का तीर्थ बस्नेत र जर्सी नम्बर–४ का निरज बस्नेतले गोल गरेका थिए।

आयोजकका जर्सी नम्बर–३ का सुरेन खबासको प्रहार पथरीका गोल रक्षक अर्जुन बस्नेतले विफल तुल्याएका थिए। पथरीका तर्फबाट जर्सी नम्बर–१७ का दिपक राई, जर्सी नम्बर–११ का साइमन लिम्बु र जर्सी नम्बर–३ का कवि राईले मात्र गोल गर्न सके।

कप्तान मीन धिमालको प्रहार आयोजकका गोल रक्षक किशोर गिरीले विफल बनाएका थिए। त्यस्तै, जर्सी नम्बर–४ का सुवास तामाङको प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो।

यद्यपि खेलमा अग्रता पथरीले पहिलो हाफको ३२औं मिनेटमा साइमन लिम्बुको गोलबाट लिएको थियो। उनले पेनाल्टी मार्फत गोल गरेका थिए। साइमनले नै पहिलो हाफकै इन्जुरी समयमा थप अर्को गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।

तर, पहिलो हाफमा दुई शुन्यले पछि परेको आयोजकले दोश्रो हाफको छैटौ मिनेटमा जर्सी नम्बर ११ का सुनिल खड्काको गोलबाट अग्रता कम गरेको थियो। दोश्रो हाफको २४औं मिनेटमा पथरीका जर्सी नम्बर–१० का सुमन राई रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

उनले आयोजकका जर्सी नम्बर–२३ का अशोक खबासमाथि हातपात गरेपछि रेफ्री लोकराज ढुङ्गानाले रातो कार्ड दिएका हुन्। त्यसपछि दश खेलाडीमा सीमित भएको पथरीविरुद्ध झनै आक्रामक देखिएको आयोजकले दोश्रो हाफको ३५औं मिनेटमा बराबरी गर्यो।

उसका निरज बस्नेतले डिबक्सभित्र निशान लिम्बुले दिएको क्रस पासमा दर्शनीय गोल गरेका थिए। यसअघि, खेल शुरु भएको ९औं मिनेटमा अयोजकका जर्सी नम्बर–१० का तीर्थ बस्नेतको प्रहार बायाँ पोलमा लागेर बाहिरिएको थियो।

दोश्रो हाफको इन्जुरी समयमा आयोजकका कप्तान सुरेन थापाको प्रहार पनि क्रसबारमा लागेर बाहिरिएको थियो। खेलको म्यान अफ दि म्याच विजयी टिमका निरज बस्नेत भए। उनले ट्रफी तथा नगद दुइ हजार प्राप्त गरे।
अब आयोजकले उपाधिका लागि सुनसरीको राष्ट्रिय जागृतिसँग आगामी शुक्रबार प्रतिस्पर्धा गर्नेछ। 

राष्ट्रिय जागृतिले यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा सयपत्री फुटबल क्बल पाँचथरलाई ३–१ ले पराजित गरेको थियो। प्रतियोगिताको विजेताले नगद एक लाख एक सय एघार तथा उप–विजेताले पचास हजार पाँच सय पचपन्न रुपैयाँ प्राप्त गर्नेछन्।

२०७४ माघ,  २५ 
Read more