काठमाण्डौंको दब्दबा सकियो,झापाका भुपेन्द्र नेपाल च्याम्पियन
१० जेठ,इलाम/ बुद्धिचालमा काठमाण्डौंको एकल दब्दबा सकिएको छ । इलाममा जारी १९ औं राष्ट्रिय प्रतियोगिताको सोमबार आठौ राउण्डको खेल सकिएसँगै झापा दमकका भुपेन्द्र निरौला (निरज) एक खेल अगावै नेपाल च्याम्पियन भएपछि काठमाण्डौंको एकल दब्दबा समाप्त भएको हो । अहिले सम्म राजधानी बाहिरका कोहिपनि नेपाल च्याम्पियन बनेका थिएनन् । उनको ७ अंक रहेको छ । उनलाई पच्छ्याइ रहेका ओलम्पियाड ललितपुरे सजिन महर्जन पुर्व नेपाल च्याम्पियन क्यान्डिडेट माष्टर केशब श्रेष्ठसँग चित खाएपछि भुपेन्द्र एक खेल अगावै नेपाल च्याम्पियन बन्न सफल भएका हुन् । यससँगै आगामी ओलम्पियाडका लागि छनोट हुनेपनि उनी पहिलो खेलाडी भएका छन् । पहिलो बोर्डमा खेलेका भुपेन्द्रले भने आठौं राउण्डमा क्षितिज भण्डारीसँग अंक बाडेका थिए । यद्यपी उनले खेलमा एक अंकको स्पष्ट अग्रता लिएका थिए । भण्डारीको ५.५ अंक रहेको छ ।
दोस्रो बोर्डमा पराजय भोगेका महर्जनको पनि पराजयको बाबजुद ५.५ अंक नै रहेको छ । महर्जनले श्रेष्ठलाई पराजित गरेको भए खेलको निणर्य नौं औं तथा अन्तिम राउण्डबाट मात्र आउने थियो । झापा दमककै प्रकाश नेपाल फिडे माष्टर मनिष हमाललाई बराबरीमा रोक्न सफल भए । उनले तेस्रो बोर्डमा खेलेका थिए । बराबरीपछि प्रकाश र मनिषको समान ५ अंक भएको छ । त्यस्तै चौथो बोर्डमा खेलेका फिडे माष्टर विलमलाल श्रेष्ठ र पुरुषोत्तम चौलागाईले पनि बराबरी खेलेका छन् । क्यान्डिडेट माष्टर रिजेन्द्र राजभण्डारी भने हिमाल लामासँग पराजित भए । जित हासिल गरेका लामाको ५.५ अंक भएको छ । यो सँगै अजरबैजानमा हुने आगामी ओलम्पियाडमा सहभागि हुने बाँकी चार खेलाडीको टुङगो अन्तिम राउण्डबाट मात्र लाग्ने भएको छ । अन्तिम राउण्डका टप ५ बोर्डमा रहने खेलाडी गर या मरको अवस्था रहने छन् । उता चौथो महिला राष्ट्रिय प्रतियोगितामा पुर्व च्याम्पियन विना जैसवाल पराजित हुदै ओलम्पियाडका लागि छनोट हुने सम्भाबनाबाट टाढा भएकी छन् । उनको चार अंक मात्र रहेको छ । शिर्ष स्थानमा रहेकी सिन्दीरा जोशीको ६.५,दोस्रो स्थानमा रहेकी मोनालिसा खम्बुको ६,तेस्रो स्थानमा रहेकी शान्ता थापाको ६,चौथा स्थानमा रहेकी सुजना लोहनीको ५.५ पाँचौ स्थानमा रहेकी संगिता जैसवालको र छैटौ स्थानमा रहेकी विसेखा जैसवालको समान ४.५ अंक रहेको छ । त्यस्तै सुरुचि थिङको ४ अंक रहेको छ । अन्तिम राउण्ड मंलबार विहान ७ बजेबाट शुरुहुनेछ ।