नेपाल च्याम्पियनलाई हराएसँगै भुपेन्द्रको एकल अग्रता
८ जेठ,इलाम/ इलाममा जारी १९ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला निरजले एकल अग्रता कायम गरेका छन् । शनिबार दोस्रो दिनको खेल सकिदा सम्म उनले लगातार जित निकाल्दै चार अंक सहित एकल अग्रता कायम गरेका हुन् ।
पहिलो बोर्डमा ब्लाक बाट खेल खेलेका उनले नेपाल च्याम्पियन केशब श्रेष्ठलाई ६३ मुभमा हार स्विकार्न बाध्य बनाएका थिए । पराजित श्रेष्ठलाई पुरै समय सम्म कडा चुनौति दिएका उनको यो अग्रतासँगै च्याम्पियनको सम्भाबना झन बढेको छ । यसअघि शनिबार नै तेस्रो बोर्डमा खेलेका निरौलाले १८ सय ८५ रेटेड कमल श्रेष्ठलाई घुँडा टेकाएका थिए ।
त्यस्तै दोस्रो बोर्डमा खेलेका बिलमलाल श्रेष्ठ र फिडे माष्टर मनिष हमालले बराबरीमै चित्त बुझाए । तेस्रो बोर्डमा खेलेका सजिन महर्जनले क्षितिज भण्डारीलाई पाखा लगाउँदा चौथो बोर्डमा खेलेका हिमाल लामाले पनि जित निकाले । उनले कमल श्रेष्ठ विरुद्ध सहज जित हात पारेका थिए । त्यस्तै पाँचौ बोर्डमा खेलेका पुरुषोत्तम चौलागाईले बाबुराजा महर्जनलाई चित ख्वुवाउँदा पुर्व नेपाल च्याम्पियन नविन तण्डुकारले अबिरल राईलाई पाखा लगाए । अन्य खेलमा सुजेन्द्र प्रसाद श्रेष्ठले विकाश कुलुजुलाई,जनार्दन श्रेष्ठले मदन रायामाझीलाई,रविन्द्र शाक्यले विजय जातिलाई,प्रचण्डमान मालाकारले रुद्र खनियालाई,विक्रम जातिले दिपक महर्जनलाई पराजित गरेका छन् । प्रतियोगितामा सजिन महर्जन ३.५ अंकका साथ दोस्रो स्थानमा रहेका छन् । छ खेलाडी तीन अंकका साथ उपाधी होडमा कायमै रहेका छन् ।
उता चौथो महिला राष्ट्रिय प्रतियोगितामा अस्मिता अधिकारी र मोनालिसा खुम्बु समान ३.५ अंकका साथ अग्र स्थानमा रहेका छन् । यस अघि अपराजित रहदै शिर्ष स्थानमा रहेकी सिन्दीरा जोशी अस्मितासँगको पराजयसँगै ३ अंकका साथ दोस्रो स्थानमा झरेकी छन् । उनीसँगै सुरुची थिङपनि बिसेखा जैसवाललाई पराजित गर्दै ३ अंक बनाउँन सफल भएकी छन् । त्यस्तै शनिबार सम्पन्न अन्य खेलमा संगिता जैसवाल,शान्ता थापा,अन्जु शाहा र पुनम प्रसाइले आ–आफ्नो खेलमा जित हातपार्दै थप एक अंक बटुलेका छन् । आइतबार पनि दुई खेल हुनेछन् ।